images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

भरतपुर महानगरपालिकाको आयोजनामा आगामी माघ २६ गतेदेखि प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा २० वटा विद्यालय सहभागी हुने महानगरले जनाएको छ। चितवन जिल्ला क्रिकेट संघ प्रतियोगिताको सहआयोजक रहेको छ।

एक्सपर्ट एजुकेसन र भरतपुर महानगरपालिकाबीचको समझदारी पत्रमा एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरे । सहआयोजक चितवन जिल्ला क्रिकेट संघ रहेको प्रतियोगितामा सहभागी हुने चितवनका १० सामुदायिक विद्यालयलाई एक्सपर्टले ८ लाख ६० हजार बराबरका खेल सामग्री प्रदान गर्न लागेको हो ।

२० विद्यालय सहभागी हुने यो प्रतियोगितामा एक्सपर्टले १ सय ६० खेलाडीलाई जर्सी, १० टिमलाई न्युनतम खेल सामग्री (किट्स), विजेता टिमलाई ६० हजार र उपविजेता टिमलाई ३० हजार रुपैयाँबराबरको खेल सामग्री प्रदान गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले बताए । समझदारी पत्रमा हस्ताक्षरपछि भरतपुरकी मेयर रेनु दाहालले महानगरको आधिकारिक खेलकुद प्रतियोगितामा निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग आएको बताइन् । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले यो सहकार्यले चितवनको क्रिकेटलाई माथि उठाउन ठूलो भूमिका निर्वाह गर्ने बताए । यो प्रतियोगिता निर्माणाधीन रंगशालामा गरिँदै छ ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही २० देशमा ६० भन्दा बढी शाखामार्फत सेवा दिइरहेको एक्सपर्टले अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भरपर्दो, आधिकारिक र विश्वसनीय परामर्श सेवा दिँदै आएको छ ।