images
images

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पौडेलसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) को खरिद गर्दा आवश्यकता र औचित्य नै नभएको अवस्थामा सार्वजनिक खरिद विपरीत सामान खरिद गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो।

पौडेलका साथै तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा) ध्रुबबहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको छ।

औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको, सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

खरिद गरिएको सामाग्रीमध्ये १६० केडब्लु भीएफडी प्यानल पार्ट ए प्राप्त गरेको छ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको उल्लेख गरिएको छ।यसरी उनीहरुले २२ लाख ७८ हजार ३०५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोही बराबरको बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ। सोही बराबरको जरिवाना तथा कैदकोसमेत माग गरिएको छ।