images
images

न्यायालय गतिका साथ अघि बढिरहेको प्रधानन्यायाधीश श्रेष्ठको दाबी

काठमाडौँ – प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गरेका छन्। कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उनको भनाइ थियो।

नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्यसमिति, सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रबार काठमाडौँमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि कसैले पनि औला ठड्याउने अवस्था नरहेको जिकिरसमेत गरे।

उनले न्यायकर्मीहरु सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गरे। त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे।

न्यायालयको प्रमुखको हैसियतले न्यायालयभित्रका सबै कर्मचारी, न्यायाधीशहरुमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उनले बताए।

प्रधानन्यायाधीश श्रेष्ठले न्याय र कानूनसँग सम्बन्धित विषयमा कुनै पनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिए।