images
images

यू-१९ विश्वकप: सुपर सिक्समा खेल्दै नखेली नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौं- यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाल खेल्दै नखेलि सेमिफाइनल नपुग्ने पक्का भएको छ। मंगलबार समूह १ अन्तर्गत भएको खेलमा समूह विजेताका रुपमा रहेका भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित निकालेसँगै नेपाल, न्युजिल्यान्ड र आयरल्यान्ड सेमिफाइनल नपुग्ने पक्का भएको हो।

मंगलबार भएको खेलमा ४ अङ्क सहीत सुपर सिक्समा पुगेको समूह ‘ए’ को विजेता भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराउँदै ६ अङ्क बनायो। भारतले सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गर्दै २ सय ९६ रनको लक्ष्य  दिएको थियो। जवाफमा न्युजिल्यान्ड ८१ रनमै अलआउट भयो।

त्यस्तै अर्को खेलमा समूह ‘डी’ को विजेता बनेको पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनायो। पहिले ब्याटिङ गर्दै आयरल्यान्डले दिएको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले ३८ बल बाँकी हुँदा ७ विकेट गुमाएर पुरा गर्‍यो। जितसँगै भारत र पाकिस्तान सेमिफाइनल नजिक पुगेका छन्।

भारत र पाकिस्तानको जितसँगै समूह १ बाट नेपाल, न्युजिल्यान्ड र आयरल्यान्डको सेमिफाइन पुग्ने  सम्भावना सकिएको छ। समूहमा बंगलादेशको गणितिय सम्भावना बाँकी छ। बंगलादेशले सेमिफाइनल प्रवेश गर्न भोली हुने खेलमा नेपाललाई फराकिलो अन्तरले हराउनु पर्ने छ भने अर्को खेलमा पाकिस्तानमाथि पनि फराकिलो जित निकाल्दै पाकिस्तान भन्दा राम्रो रनरेट बनाउनु पर्ने छ।

सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने भएकाले अब नेपालले दुबै खेल जितेपनि ४ अङ्क मात्रै हुने छ। समूह विजेता भएका टोलीले एक अर्का विरुद्ध खेल्नु नपर्ने भएकाले भारतको खेल समूह ‘डी’ मा दोस्रो स्थानमा रहेको न्युजिल्यान्ड र तेस्रो स्थानको नेपालसँग हुने छ। त्यस्तै पाकिस्तानले समूह ‘ए’ को दोस्रो स्थानमा रहेको बंगलादेश र तेस्रो स्थानको आयरल्यान्डसँग भिड्ने छ।

नेपालले बुधबार आफ्नो पहिलो खेलमा बंगलादेशको सामना गर्दै छ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतसँग शुक्रबार खेल्ने छ। १२ टोलीले सुपर सिक्सको यात्रा तय गर्दा दुई समूहमा ६-६ टोली रहेका छन्। जहाँ शीर्ष स्थानमा रहने २-२ टोलीले सेमिफाइनल यात्रा तय गर्ने छन्।

समूह १ मा ‘ए’ र ‘डी’ का शीर्ष ती टोली नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड रहेका छन्। त्यस्तै समूह २ मा ‘बी’ र ‘सी’ का शीर्ष तीन टोली रहेका छन्। जसमा आयोजक दक्षिण अफ्रिका सहित, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, वेस्टइन्डिज र जिम्बाब्वे रहेका छन्।

सुपर सिक्सको अङ्क तालिका