काठमाडौं महानगरभित्र निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिँदैनौं: बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरभित्रका सार्वजनिक सम्पत्ति कसैकाे निजी स्वार्थका लागि प्रयाेग हुन नदिने प्रतिबद्धता जनाएका छन्।

बालेनले सामाजिक सञ्जालमार्फत् यस्ताे प्रतिबद्धता जनाएका हुन्।

धरहरामा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा ‘धरहरा निर्माण हुँदैछ, पार्किङ बन्द गर्नू’ भन्ने खुलापत्र लेखिएपछि बालेनले सार्वजनिक सम्पत्ति निजी स्वार्थका लागि प्रयाेग हुन नदिने प्रतिबद्धता जनाएका हुन्।

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराउँदै पत्र पठाएकाे थियाे।

बालेनले उद्घाटन गरेकाे २ वर्षभन्दा बढी समय भइसक्दा पनि पत्र लेख्नुकाे औचित्य के हाे भनी प्रश्नसमेत गरेका छन्।

उनले ताेकिएकाे समयमा निर्माण नहुने अनि हतारमा निर्माण भइ उद्घाटन हुने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन पनि अनुराेध गरेका छन्।

बालेनले धरहरामा पार्किङ बन्द नहुने र पार्किङलाई अझै व्यवस्थापन गर्दै लैजाने पनि उल्लेख गरेका छन्।

उनले पार्किङकाे ठेक्का लिएर सरकारकाे सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएकाे पनि बताए।