images
images

राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी रहन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले ठूलो दलको हैसियतले गठबन्धनमा अध्यक्ष दाबी गर्ने जानकारी गराएका हुन् । संसदीय दलको बैठकमा सदस्यहरुले ठूलो दलको हैसियतमा अध्यक्ष लिनुपर्ने मत राखेपछि बोलेका प्रचण्डले दाबी गर्ने जानकारी गराएका हुन् ।

‘राष्ट्रिय सभामा हामी नै ठूलो दल हौं । त्यसैले अध्यक्षमा हाम्रो दाबी रहन्छ ।’ पधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै सचिव देवेन्द्र पौडेलले साझा पोष्टसँग भने । उनले ठूलो दलको हैसियतले अध्यक्ष लिनुपर्ने सुझाव पनि बैठकले दिएको जानकारी दिए ।

राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क सांसदहरुको छ ।

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी छ । तर, कोशीमा कांग्रेसबाट फ्लोर क्रस गरेर एमालेको उम्मेदवार जिताएपछि माओवादी असन्तुष्ट छ । माओवादीले कांग्रेसकै कारणले कोशीमा सभामुख, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य गुमाएको कारणले अब अध्यक्ष नछाड्न पार्टीभित्रैबाट पनि प्रचण्डमाथि दबाब परिरहेको छ । प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुने भएकाले राष्ट्रियसभाको अध्यक्ष नछाड्न प्रधानमन्त्री प्रचण्डमाथि दबाब छ ।