images
images

एक वर्षमा करिब ७१ हजार नेपाली स्थायी बसोवासका लागि विदेशिए

काठमाडौँ : नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासका लागि गएका छन्।

आइतवार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो। विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवासका लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो।

समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए। उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमै बसेको बताए।

उनले यो अवधिमा अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको बताए।

उनले यसरी पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्ने गरी गएको दाबी गरे। महानिर्देशक तामाङले २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरूको संख्या समावेश नभएको बताए। उनले सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली नागरिक श्रमिकको रूपमा विभिन्न देश गएको बताए। उनले नेपालबाट विदेशमा बसेका छोराछोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको बताए।

उनले भ्रमण तथा धार्मिक प्रयोजनका लागि १ लाख ४ हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको बताए। उनले अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ फगुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताए। उनले अध्यागमन विधेयकलाई वर्तमान समयसापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए।

नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक देखिएको उल्लेख गरे। उनले अहिले १० लाख पर्यटक भित्रिए भने पनि अध्यागमन विभागको तथ्याङ्क हेर्दा १० लाख पर्यटक नेपालमा नभित्रिएको दाबी गरे। उनले अध्ययन भिसा, कामदार भिसा, रिटायरमेण्ट भिसा, मेडिकल भिसा, धार्मिक भिसा, खेलकुद भिसा लगायत अन्य प्रकारका भिसा थप्नुपर्ने अवस्था रहेको बताए। उनले १७ बँुदे निर्देशनका कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएको बताए।

तामाङले भने, ‘सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशिँदा १२ लाख ६३ हजार ४६९ भित्रिए। ३ लाख ४० हजार  ३६९ जना नेपाली विदेशमै बसेका छन्। यस अवधिमा अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना गरी पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्ने गरी गएका छन्। यसमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरूको संख्या समावेश छैन।’

उनले सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरिएको बताए। उनले सन् २०१७ मा ५५९, सन् २०१८ मा ६७८, सन् २०१९ मा ६७१, सन् २०२० मा ३३२, सन् २०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निष्काशन गरिएको बताए।