images
images

सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताउनुभएको छ ।

सोमवार नेकपा (एकीकृत समाजवादी) मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताउनु भयो ।

अध्यक्ष नेपालले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको बताउनु भयो । उहाँले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गर्नुभयो ।

गठबन्धनको अहिले कुनै विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताउनु भयो ।

‘गठबन्धनलाई कसैले ढाल्न सक्दैन । अहिले कुनै विकल्प छैन । लोकतन्त्रको पक्षपोषणहरु को हुन् ? संविधानका पक्षपोषकहरु को हुन् ? संघीयताका पक्षपोषक को हुन् ? ति मित्र नभएर शत्रु हुन्छन् ? त्यसैले अहिले हामी सहकार्य गर्दै अघि बढिरहेका छौँ । तर एउटा कुरा पक्का छ । यो गठबन्धनले नै हाम्रो पीडा पार लगाउँछ भन्ने सोच्ने होइन । यो गठबन्धन भनेको अहिलेको शक्ति सन्तुलनको आवश्यकता हो । यो शक्ति सन्तुलनको आवश्यकतामा हामीसँग विचार मिल्नेहरु अहिलेको राजनीतिक यथार्थतामा सँगै जान सक्नेहरुलाई साथमा लिएर जाने हो । यस अर्थमा हामी अहिलेका जति पनि राजनीतिक दलहरु छन्, तिनीहरुमध्ये अहिले सामेल भएका दलहरुबीचमा एकतालाई बलियो बनाउन चाहिरहेका छौँ ।’ अध्यक्ष नेपालले बताउनु भयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्सान पुर्‍याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताउनु भयो ।