images
images

अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवस होः गृहमन्त्री श्रेष्ठ

 

काठमाडौ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाइने बताएका छन्।

मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले यस वर्षको लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए।

उपप्रधान एवं गृहमन्त्रीसमेत रह‍ेका श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रूपमा मनाउने स्थिति आउन सक्ने बताए।

उनले भने, ‘यस वर्षको लागि पनि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। र राजपत्रमा पनि प्रकाशित भइसकेको थियो। अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गरिदियो। त्यो अदालतको कार्यक्षेत्रको विषय हो कि होइन, अर्कै बहस हाे। तर हाम्रो सरकार अहिले शान्तिपूर्ण कार्यदिशाको प्रक्रियामार्फत अघि बढेको सरकार हो। त्यसकारण अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य ठान्दछौं। सरकारले औपचारिक रूपमा बिदा दिओस् नदिओस्। आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो, क्रान्तिकारी नेपाली जनताले यसलाई मनाउँछन्। मनाइरहेका छन्। जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रूपमा मनाउने स्थिति आउन सक्छ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको उपलब्धिको रक्षा गर्नु आफूहरूको प्रमुख कार्यभार रहेको पनि बताए।