![](https://laltinkhabar.com/wp-content/uploads/2024/02/IMG-20240215-WA0063-1568x848.jpg)
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ। माओवादी केन्द्रको बिहीबार सम्पन्न विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताए। उनले पदाधिकारीमा भने केन्द्रीय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी दिए। केन्द्रीय कमिटीले पदाधिकारी निर्वाचित गर्ने उनको भनाइ छ।
त्यस्तै, विधान अधिवेशनले केन्द्रीय समिति १९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय गरेको छ। आयोगहरुमा १५ जनासम्म सदस्य राख्ने भनिएको छ।
प्रवक्ता सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुराहरुलाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताए। अधिवेशनले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको पनि उनले जानकारी दिए।
त्यस्तै, माओवादी केन्द्रले सबै जनवर्गीय संगठनहरुको सम्मेलन गर्ने र पुनःगठन गर्ने निर्णय भएको छ। अधिवेशनले भारत, मध्यपूर्व र बाँकी विश्वमा गरी ३ वटा छुट्टाछुट्टै प्रदेशस्तरीय समिति बनाउने निर्णय पनि गरेको प्रवक्ता सापकोटाले जानकारी दिए। आगामी अधिवेशन माथिल्लो तहको कमिटीबाट सुरु हुने उनको भनाइ छ।