images
images

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिताः प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्व कप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएकी छन् ।

भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै उनले महानगरको एक मात्र उद्देश्य विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने रहेको बताएकी हुन् ।

‘चितवनले यसअघि विश्वकप खेल्ने खेलाडी उत्पादन गरी सकेको छ’,उनले भनिन्,‘विद्यालयस्तरबाटै खेलाडी छनोट गर्दा उच्च सम्भावना रहन्छ । विद्यालयस्तरीय प्रतियोगिताबाट लुकेका प्रतिभालाई बाहिरा ल्याउन मद्दत पुर्याउँछ ।’ प्रमुख दाहालले देशमा भएको आर्थिक मन्दीका कारण दुई चरणमा निर्माण गर्ने गरी रंगशालाको निर्माण कार्य अगाडि बढाउन  लागेको स्पष्ट पारीन् ।

पहिलो चरणमा तत्कालै खेल्न मिल्ने गरी खेल मैदान, प्याभिलियन, टावर र १५ हजार अट्ने प्याराफिट निर्माण हुने र अर्को चरणमा बाँकी रहेको सबै काम हुने प्रमुख दाहालको भनाई छ ।
वागमती सरकारले रु ५३ करोड बजेट सुनिश्चित गरिसकेको र संघीय सरकारले पनि यही अनुपातमा चालु वर्षमा बजेट विनियोज गर्नेमा विश्वस्त रहेको प्रमुख दाहालले बताउनुभयो ।
अबको एक हप्ताभित्र रंगशाला निर्माणको टेण्डर आह्वान गर्ने तयारीका साथ कामलाई अघि बढाएकाले छिटै निर्माणको काम सुरु हुने उनको भनाई थियो ।

‘भरतपुर महानगरपालिका खेलकुदको हबको रुपमा विकास हुदै गएको छ’,उनले भनिन्,‘विषेश गरी क्रिकेटको खेलको हब नै भइसकेको छ । भरतपुरमा दैनिक जसो राष्ट्रिय स्तरको खेलकुद भइरहेको छ। नेपालको क्रिकेटको भविष्य राम्रो छ ।’ वागमती प्रदेशको आयोजनामा फागुनमा हुने खेलमा ४९ जिल्लाबाट ५ हजार भन्दा बढी खेलाडी र प्रशिक्षकहरु भरतपुर आउन लागेकाले भरतपुर खेलकुदमय हुने उहाँले जानकारी दिइन् ।

सन् २०२७ मा नेपालमा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने गरी महानगरले तयारी गर्ने र त्यसको समवन्य गर्न संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद र क्यानलाई आग्रह पनि गरिन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भरतपुर महानगरपालिकाले विद्यालयदेखि विश्वकपसम्म भन्ने नाराका साथ लिगको आयोजना गरेकोमा खुसी व्यक्त गरे । रंगशालाको निर्माणकाको लागि राष्ट्रिय खेलकुद परिषद सकारात्मक रहेको र त्यसका लागि थप प्रकृया अघि बढाउने बताए ।

यस्तै नेपाल क्रिकेट एशोसियसन (क्यान) का केन्द्रीय सचिव पारस खड्काले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको लागि गौतम बुद्ध क्रिकेट रंगशालामै प्रशिक्षण गर्न सकिने उल्लेख गरे । यो विषयमा क्यान एकदमै सकारात्मक रहेको सचिव खड्काले बताए ।

लिग प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शुक्रबारदेखि लिग चरणको नकआउट खेल सुरु भएको छ । प्रत्येक शुक्रबार र शनिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा क्रिकेट एशोसिएसन चितवनको प्राविधिक सहयोग रहने छ भने एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसले प्रायोजन गरेको छ । प्रतियोगिता ३ महिनासम्म चल्ने महानगरपालिकाले जनाएको छ ।