माओवादीसँगको अप्राकृतिक गठबन्धन अन्त्य गरेर कांग्रेस नेतृत्वमा जनमुखि सरकार बनाऔंः सांसद डा. सुनिल शर्मा

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माओवादी केन्द्रसँगको अप्राकृतिक गठबन्धनको अन्त्य गर्नुपर्ने बताएका छन् ।

कांग्रेस महासमिति बैठकअघि शनिबार काठमाडौंमा पार्टी रुपान्तरणका लागि आफ्नो अवधारणा पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सांसद शर्माले कुनै कार्यक्रम नै नमिल्ने पार्टीहरुसँगको गठबन्धनबाट बनेको सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको र यसलाई अन्त्य गरेर कांग्रेसको नेतृत्वमा जनमुखि सरकार बनाउनुपर्ने बताएका हुन् । यसरी सरकारमा कांग्रेस बसिरहँदा माओवादीको असक्षमताको भारी पनि बोक्नुपर्ने उनको भनाई थियो ।

‘अहिले संघदेखि प्रदेशसम्म कांग्रेस सरकारमा छ । तर, त्यसको जग भने अप्राकृतिक छ । कांग्रेस भन्दा भिन्न राजनीतिक,सामाजिक,आर्थिक व्यवस्था पक्षधर माओवादी, एकीकृत समाजवादी र अर्को क्षेत्रीय पार्टी जसपासँग सहकार्य छ । यो गठबन्धन सैद्धान्तिक जगमा हेर्दा अप्राकृतिक भन्दा फरक पर्दैन ।’ उनले भने, ‘कुनै कार्यक्रम नै नमिल्ने पार्टीहरुसँगको गठबन्धनबाट बनेको सरकारका कामकारवाही प्रभावकारी हुन सकेका छैनन् । न गृह प्रशासन चुस्त छ, न आर्थिक प्रशासनमै सरकारले आशा जगाउन सकेको छ । देशको अर्थतन्त्र ध्वस्त भइरहँदा हाम्रै पार्टीको नेतृत्वमा रहेको अर्थमन्त्रालयको भूमिका शून्य छ । उदार अर्थनीति अपनाउने कांग्रेसले अर्थमन्त्रालय सञ्चालन गरिरहँदा नीजि क्षेत्र आतंकित र ध्वस्त छ । लगानीकर्ताहरुको मनोबल गिरेको छ । सबैतिर आर्थिक सूचकांक कमजोर बनेको छ । यसको एउटा कारण अप्राकृतिक गठबन्धन पनि हो ।’

उनले थपे, ‘कुन मन्त्रालय कसले समहालेको छ ? भन्दा पनि संसारले हेर्ने कसको नेतृत्वमा सरकार छ भनेर हो । अहिले माओवादीको नेतृत्वमा सरकार छ । सरकारमा कांग्रेस बसिरहँदा माओवादीको असक्षमताको भारी कांग्रेसले बोक्नुपर्नेछ । तत्काल यो अप्राकृतिक गठबन्धनबाट अलग भई कांग्रेसले लोकतान्त्रिक शक्तिहरुलाई एकत्रित गरि आफ्नो नेतृत्वमा सुशासनमुखी, जनमुखी सरकार गठनका लागि पहल गर्नुपर्छ ।’

संघमा मुख्य सत्ताघटक कांग्रेस रहँदा पनि नागरिकले किन सुशासनको अनुभूति गर्न सकिरहेका छैनन् ? उनको प्रश्न छ । ‘अहिले स्थानीय, प्रदेश र संघमा नेपाली कांग्रेस नै छ । संघमा मुख्य सत्ताघटक कांग्रेस छ । स्थानीय तहमा ३ सय भन्दा बढी स्थानमा नेतृत्व गरिरहेको छ । ४ वटा प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार छ । सातै प्रदेशमा कांग्रेस सरकारमा छ । तर, नागरिकले सुशासनको अनुभूति गर्न सकिरहेका छैनन् । किन ? के यसको जिम्मेवारी हामीले लिनुपर्दैन । हामी कहाँ चुक्यौं । सरकार सञ्चालनमा संघीय, प्रदेश सरकारमा वा पालिकामा रहेका हाम्रा प्रतिनिधि र पार्टीबीच समन्वय कति भयो ? समिक्षा गर्न ढिला भइसकेको छ ।’ उनले भनेका छन् ।