त्रिवी उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता, ७-७ जना गरी दुई सिफ्टको तयारी

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि छनोट(सर्ट लिस्ट) भएका १४ जना उम्मेदवारहरुको आइतबार अन्तर्वार्ता हुँदैछ।

कुल ४३ जना आवेदकमध्ये त्रिवी उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरूको अन्तर्वार्ता लिन लागेको हो ।

सितिले जारी गरेको सूचना अनुसार अन्तर्वार्तामा आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा सुरु हुनेछ।

समितिको सूचना अनुसार आज बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ। त्यसपछि दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुनेछ।

यसअघि त्रिविका सहकुलपति एवम् शिक्षा मन्त्री नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका १४ जना उम्मेदवारहरुबाट सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण लिएको थियो।

त्यसलगत्तै ती १४ जनामध्ये ७-७ जनाको अन्तर्वार्ता दुई सिफ्टमा लिने तयारी थालियो। जसअनुसार आएका लागि समय र स्थान निर्धारण भएको समितिले जनाएको छ।

समितिका अनुसार उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनको आधारमा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम उपकुलपति नियुक्तिका लागि कुलपति एवम् प्रधानमन्त्री समक्ष पेश गरिने छ।