बेँसीसहर–चामे सडक : ट्याक खोलेको २९ वर्षपछि कालोपत्र गरिँदै

मनाङ, फागुन ५ । मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको डुम्रे बेँसीसहर–चामे सडक सात किलोमिटर सडक कालोपत्र गरिएको छ । मनाङ जोड्ने एक मात्र सो सडकखण्डको ७ दशमलव ८ किलोमिटर सडक कालोपत्र भएको हो ।

डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर किरण पोखरेलले अब सात सय मिटर कालोपत्र गर्न बाँकी रहेको जानकारी दिनुभयो । स्तरोन्नति तथा कालोपत्र गर्न हालसम्म १९ करोड रुपियाँ खर्च भइसकेको सो सडकको ८५ प्रतिशत काम सकिएको छ ।

कुल ५२ करोड ९६ लाख रुपियाँ लागत अनुमान गरिएकामा २५ करोड ३२ लाख रुपियाँमा कालोपत्रको सम्झौता भएको सडक योजना कार्यालयले जनाएको छ । २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण असोजदेखि मात्र काम सुरु भएको थियो । सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि २०८१ असार ३० गतेसम्म म्याद थप गरिएको छ । विविध कारण निर्माण रोकएपछि २०५७ सालदेखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । ६५ किलोमिटर दूरी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ ।

हिउँदमा बढी चिसोको समस्याले गर्दा मनाङतर्फको सडकखण्ड निर्माण कार्यले तीव्रता पाउन नसकेको सब–इन्जिनियर सुमन अधिकारीले बताउनुभयो । उहाँले अब चिसो घटेसँगै तीव्ररुपमा कार्य अघि बढाइने जानकारी दिनुभयो ।

ट्याक खोलेको २९ वर्षपछि लमजुङ खण्डमा अमेरिकन प्रविधिको अस्फाल्ट कालोपत्र राख्ने काम भइरहेको छ भने सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा तथा कटिङ गर्ने, नाली बनाउनेलगायत काम सम्पन्न भएको इन्जिनियर पोखरेलले जानकारी दिनुभयो ।

सडक ५ दशमलव ५ मिटरको सवारी गुड्ने, १ दशमलव १ मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो १ मिटर चौडाइको रहेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार बस्ती भएका ठाउँमा दुईतर्फी र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिएको छ । अन्तिम चरणको काम कालोपत्र सम्पन्न भएसँगै रोड मार्किङ गर्ने, किलोमिटर पोस्ट राख्ने, रोड पेन्टिङलगायत काम हुने इन्जिनियर पोखरेलले बताउनुभयो ।स्रोत :गोरखापत्र