प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध: मन्त्री शर्मा

काठमाडौं, फागुन ७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाँले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील रहेको जानकारी दिनुभयो । उहाँले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर/अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताउनु भयो ।

‘‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनेगरी आम सञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिनुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । नेपालको संविधानले अख्तियार गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर÷अवस्था बदल्न महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ । यसका लागि फेरि एकपटक हामी सँगसँगै हुन जरुरी छ । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व, र जनताको जीवन रुपान्तरणमा सिङ्गो मुलुकलाई एकतावद्ध गरेर लैजाने प्रयास गरिरहेको छ ।’’

मन्त्री शर्माले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व र जनताको जिवन रुपान्तरणमा सिङ्गो मुलुकलाई एकतावद्ध गरेर लैजाने प्रयास गरिरहेको बताउनु भयो । सरकारले नक्कली भूटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसार लगायतका भ्रष्टाचारको छानविनलाई दृढतापूर्वक सहयोग गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरुले सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्‍याउने र जनताको आशा, अपेक्षा र गुनासाहरुलाई सरकार समक्ष पुर्‍याउने कामका लागि सहजिकरण गर्नुपर्ने बताउनु भयो ।