गगनको प्रस्तावमा देउवाको सहमति,प्रस्ताव छपाइ गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको प्रस्तावमा सहमति जनाएका छन् ।

सोमबार बेलुका बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकमा चुनावी गठबन्धन नगर्ने थापाको प्रस्तावमा देउवाले सहमति जनाएको एक पदाधिकारीले जानकारी दिए ।

ती पदाधिकारीका अनुसार थापालाई गलाउने रणनीति सफल नहुने देखिएपछि देउवाले सहमति दिएका हुन् ।

“निकै रस्साकस्सीपछि सभापतिले हुन्छ भन्नुभयो । अर्थात् महामन्त्री थापाको प्रस्ताव पास भयो । सभापतिले हुन्छ भनेपछि उपसभापति खड्का, प्रवक्ता महतलगायत अवाक भए, अचम्म परे,” ती पदाधिकारीले भने ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि नेताहरूबीच कुरा मिलेको पुष्टि गरे ।

देउवा सहमत भएसँगै अब महासमिति बैठकमा थापाको प्रस्ताव पेस हुने भएको छ ।

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए।

अहिलेका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानिलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेका थिए। यसले देउवालाई समझदारीमा आउन दबाब पुगेको थियो।

‘कार्यकर्ता उत्साहित बनाउन नसक्ने, भोलिको चुनाव कांग्रेस एक्लै लड्छ भन्न नसक्ने?’ भन्दै केही नेताहरूले सभापति देउवालाई प्रश्न सोधेका थिए।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार केही नेताहरूले कांग्रेस आजै यति कमजोर छ भनेर सोधेपछि सभापति देउवा बोलेका थिए। उनले ‘ल ठीक छ, प्रस्तावको कुरा मानेँ, छपाइ गर्न पठाए हुन्छ’ भनेका थिए।

मंगलबार बिहान ९ बजेदेखि पुनः बैठक सुरू हुनेछ।