images
images

बालकुमारी घटनामा ओलीको टिप्पणीः नैतिकता हराएको मन्त्री र हुतिहारा प्रधानमन्त्री

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।

ओलीले सरकार आफैंले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुत्तिहाराको संज्ञा समेत दिए।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले दुई जना मानिसको ज्यानसमेत गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनै पनि हालतमा पदमा बसिरहन नमिल्ने बताए। अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलाज पचाएको जिकिर समेत गरे।

उनले भने, ‘दोषी हो मन्त्री भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो। मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरी त्यहाँ मान्छे मर्ने स्थिति आयो। तोकेर भनिएको छ। यस्तो सरकार छ कि, मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ। न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुति छ। नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री। यस्ता मन्त्रीहरुलाई, जस बनाएको आयोग, आफैंले बनाएको अयोगले दोषी करार गरेको छु, जुन दोषका कारणले मान्छेको ज्यान गएको छ।’

ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन नसक्ने दाबी समेत गरे।

त्यस्तै अध्यक्ष ओलीले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको पनि दाबी गरे । गिरीबन्धुमा अदालतको आदेश अनुसार कानुनमात्र बनाएको ओलीको भनाइ छ ।

‘हाम्रो समयमा गिरीबन्धु टि स्टेट प्रकरणमा कुनै प्रकारको लेनदेन र सट्टा पट्टा भएको छैन’, पूर्व प्रधानमन्त्री ओलीले भने, ‘अदालतले कानुन बनाउनु भनेकाले बनाएको मात्र हो ।’ अध्यक्ष ओलीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका आफू निकटकालाई सरकारले जोगाएको भन्दै सुन प्रकरणमा पनि सरकारले त्यसै गरेको बताए ।

‘ललिता निवास काण्डमा फ्रम द भेरि विगिनिङ । यो यत्तिकै भयो होला हिनामिना ?’, ओलीले भने, ‘वाइडबडीको गर्नुपर्‍यो नि छानबिन ।’ ओलीले टेरामक्स काण्डमा मन्त्रीहरु नै झण्डा हल्लाएर अख्तियारमा बयान दिइरहेपनि सरकारले बेवास्ता गरेको बताए । उनले सरकारका हरेक निकायलाई कमजोर बनाउने काममा सरकार नै लागि रहेको आरोप लगाए ।