images
images

गठबन्धनमा सत्ता टिकाउने र प्रतिस्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल हुन्छः सिके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिस्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका छन्।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशमा चरम निराशा व्याप्त रहेको बताए। उनले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता सुरु भएको बताएका हुन्।

अध्यक्ष राउतले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको टिप्पणीसमेत गरे। उनले प्रतिनिधि सभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको आरोपसमेत लगाए। गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको बताउँदै उनले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैं सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको बताए।

‘आज जतातिर जान्छु देशमा चरम निराशा व्याप्त भएको देख्छु। देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु। समग्रमा सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता देख्दैछु। देशमा हरेक अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको प्रतित भइरहेको छ। प्रतिनिधि सभाको कुरा गर्ने हो भने चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको छ। न्यायपालिकाबाट न्याय पाउने कुनै आशा नै गर्न नसक्ने अवस्था छ। संवैधानिक निकायहरु सरकारको निर्देशनमा जि हुजुर गर्ने मात्रै व्यस्त छन्। कार्यपालिकाको अवस्था यस्तो छ की कुनै पनि कुरामा शिक्षा, स्वास्थ्य, रोजगारी कुनैपनि कुरामा डेलिभर गर्नसक्ने अवस्था छैन। यति मात्रै होइन, म पनि गठबन्धनमै छु र विगतका गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतैपनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छेन। सत्तामा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी विरोधी र प्रतिस्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको छ। जसरी जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएका थिए र अन्तिममा आफैं सेतो बाघबाट त्रसित हुनुपरेको थियो, त्यस्तै नै अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था छ। दुई युवाहरु विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि मेरो गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा छ। धोती लगाउँदा पनि षड्यन्त्र देख्छ। हामी सुध्रेनौं भने जंगबहादुरकै हविगत हुनेछ।’

उनले  दुई युवाहरु विदेश जान पाउँ भनेर विरोध गर्दा पनि गणतन्त्र र लोकतन्त्र ढाल्न आयो कि भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा रहेको जिकिर गरे।  उनले शासक नसुध्रिए जंगबहादुरकै हविगत हुने चेतावनी दिए।