रमेश लेखकको प्रस्ताव: संक्रमणकालीन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुंगो लगाऊँ

काठमाडौँ-सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक एक हप्ता भित्र टुंगोमा पुर्याउन कानून, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरेका छन्।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रवार सिंहदरवारमा बसेको बैठकमा उनले पीडित, नागरिक समाज र सञ्चार माध्यामको दवावलाई समेत ख्याल गरेर सो विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गते भित्र टुंगो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन्।
प्रमुख सचेतक लेखकले सो विधेयकमा १/२ विषय मात्रै सहमति हुन बाँकि रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसदको पूर्ण हाउसले टुंगो लगाउने गरी संसदमा पठाउन ढिलाई गर्न नहुने बताए।

लेखकले भने,‘यो पीडितहरुको पनि पीडाको पनि विषय छ। त्यसकारण म आज बडो गम्भिरतापूर्वक एउटा आग्रह गर्न चाहन्छु। अब एक काम के गरौैँ भने यो संक्रमणकालिन न्यायका बारेमा एउटा तिथिमिति तोकिदिउ। कति हुन्छ, कहिले हुन्छ ? एउटा तिथि तोकौं। त्यो मितिमा अहिलेसम्म हामीले जे जति छलफल भएँ, हामीले जे जति कामहरु गर्यौ, ती कामहरुका आधारमा हाम्रो सहमती हुन सक्ने कुरालाई अझै बल गरौं त्यो मितिसम्म । र, सहमती नै गरौं त्यो दिनसम्म। त्यो दिन पनि बसेर सहमती गरौं। मलाई लाग्छ–धेरै कुरामा असहमती हुने कुरा देख्दिन म।’

उनले भने,‘१/२ कुरामा हाम्रा बीचमा सहमति हुँदैन भने पनि अब हामीले पार्लियामेन्ट्री प्रोसेसलाई अगाडि बढाउनुको विकल्प देखिराखेको छैन मैले। त्यसो भएको हुनाले मैले आज अनुरोध गरेँ,एउटा मिति तोकौं। सञ्चार माध्यमले पनि यसलाई ढिलो गर्ने कुरालाई राम्रो रुपमा लिइराखेको छैन। आम नागरिक समाज, आम नागरिकहरुको बीचमा पनि यो आयोचनाको विषय हुन थाल्यो । त्यसो भएको हुनाले अव यसलाई सहमति गरौैं, भएन भने प्रक्रियामा लगेर भएपनि कुनै एउटा मिति तोकेर यसलाई टुंग्याइदिउँ भन्ने मेरो गम्भिरतापूर्वक आग्रह छ। आजै एउटा मिति तोकेर संक्रमणकालिन न्याय टुंग्याइदिऊँ भन्ने आग्रह छ।’

 

उनले संसदीय प्रक्रियामा लगेर संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा अब ढिलाइ गर्न नहुने पटकपटक दोहोर्‍याएका थिए।