बाँके । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।
आज (शुक्रबार) नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धन पुरै अवधिका लागि जारी रहने जनाउँदै उनले यो सरकारले नेपाली जनतामा सकारात्मक सन्देश दिन सफल भएको बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थामा समेत सानो समयमै धेरै सुधारका संकेत देखिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले बढी भन्दा बढी आर्थिक क्रियाकलाप र गतिविधि गर्न सकिने गरी बजेट ल्याउने छलफल चलिरहेको समेत बताए । उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझै पनि ठूला ठूला कार्य गर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने प्रष्ट पारे ।