धर्म र संस्कृतिले नेपाल र नेपालीलाई अक्षुण्ण बनाएको छः मन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विभिन्न धर्म र संस्कृतिले नेपाल र नेपालीलाई अक्षुण्ण राख्दै एकताबद्ध बनाएको बताएका छन् ।

बाह्रबीसे नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको आयोजनामा शनिबार बाह्रबीसे–३ खोर्सानीबारीमा आयोजित २८६०औँ डुक सोनाम ल्होछार कार्यक्रममा उनले भने, “हामीकहाँ विभिन्न जातिका आ–आफ्नै पर्व र संस्कृति छन् । हामीकहाँ फरक जातिको पर्व पनि उत्तिकै उत्साहका साथ मनाउने गरिएको छ । धर्म र संस्कृतिले हामीलाई एकापसमा जोडेको छ ।”

मन्त्री बस्नेतले आफू यसै जिल्लाबाट निर्वाचित भएकाले जिल्लाको विकासका लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए । “सिन्धुपाल्चोकका सबै वडा मेरा लागि बराबर छन् । सबै वडाको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक योजना समेट्न अधिकतम प्रयास गर्नेछु”, उनले भने ।

उनले आफू मन्त्री भएपछि निजी, सरकारी र सामुदायिक अस्पतालमा १० प्रतिशत साधारण शय्या गरिब तथा विपन्नका लागि निःशुल्क उपलब्ध गराएको समेत उल्लेख गरे । त्यस अवसरमा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले यस्ता कार्यक्रमले समाजमा सद्भाव र आत्मियता बढाउने धारणा राखे ।