प्रधानमन्त्री संसद्मा नआएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले द्वारा आक्रोश व्यक्त

काठमाडौँ । प्रतिपक्षी दलहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा नआएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले आक्रोश व्यक्त गरेको छ । आइतबार बसेको प्रतिनिधि सभामा आकस्मिक समय मागेर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संसद्लाई जवाफ नदिई प्रधानमन्त्री संसद्लाई छलेर हिँडिरहेको बताए ।

उनले भने–‘हामीले संयमताका साथ जिम्मेवारी बोधका साथ संसद्मा हप्तौँ दिनदेखि उठाएको विषय सुन्न सरकार तयार छैन । आज प्रधानमन्त्रीज्यूले यति महत्त्वपूर्ण विषयमा संसद्मा आएर जवाफ दिनुपर्ने ठाउँमा आज संसद् छलेर बाहिर हिँडिरहनुभएको छ । यहाँ उठेका कुराहरूलाई उहाँले अनदेखा गरिरहनुभएको छ । यो अत्यन्तै दुख र चिन्ताको कुरा हो । हामी कहिले पनि संसद् अवरोध होस भन्ने चाहँदैन । सरकारले सुनिदियो भने हामीले संसद् अवरुद्ध गर्ने, बेल घेर्ने काम गर्नुपर्दैन ।’

सरकारले विपक्षी दलले उठाएका कुरा सम्बोधन नगरेर उत्तेजित बनाउने, बलमिच्याइँ गर्ने काम गरेका कारण विगतमा संसद् अवरुद्ध भएको बताउँदै त्यसतर्फ नलाग्न आग्रह गरे ।

सरकारले सुनुवाइ नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि प्रतिपक्षले उठाएको विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

एमालेले बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायतमन्त्री प्रकाश ज्वाला, टेरामक्स खदिमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, रामग्राम निजी कम्पनीलाई दिने पर्यटनमन्त्री सुदिन किराती र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताए।

‘हामी गत ६ गतेदेखि संसदमा बालकुमारी घटनाका दोषी भौतिकमन्त्री र बालकुमारी घटनामा गोली ठोक्ने आदेश दिने गृहमन्त्रीको बिरुद्धमा आवाज उठाइरहेका छौं, ‘ गिरीले अगाडि भने, ‘अख्तियारको छानबिनमा रहेका स्वास्थ्यमन्त्री पदमा बस्न मिल्दैन।  उहाँको राजीनामा मागिरहेका छौं। रामग्राम लिजमा दिने पर्यटनमन्त्रीको राजीनामा मागिरहेका छौं। हामीले संसदमा हप्तौ दिनदेखि कुरा उठाउँदा सरकार सुन्न तयार छैन। प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिर हिँडिरहनुभएको छ।’