images
images

ज्ञानेन्द्र शाहीले माओवादीले घाँटी रेटेर मान्छे मारेको भनेपछि संसदमा हंगामा, सत्तापक्ष विभाजित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आफू संसदमा कसैको घाँटी काटेर गुडिरहेको बसमा बम पड्काएर नआएको भनेपछि संसदमा केहीबेर हंगामा भएको छ ।

काठमाडौं शाहीकै पक्षमा सत्तारुढ दलकै कांग्रेस सांसद सुनील शर्मा देखिए ।

आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै माओवादी केन्द्रका सांसद सापकोटाले भने, ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने रु संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’

सांसद सापकोटाले राप्रपा सांसदमाथि नैतिकताको प्रश्न उठाएर राजीनामा दिनुपर्ने तर्क अघि सारे । यसपछि राप्रपामा प्रमुख सचेतक शाहीले संविधानमा फरक मत राख्ने अधिकार सुरक्षित रहेको भन्दै सापकोटालाई संविधान पढ्न सुझाव दिए । जनताको हत्या र हिंसा गरेर राप्रपाका सांसद संसदमा नआएको भन्दै उनले राजीनामा किन दिनुपर्ने भन्दै प्रश्न गरे ।

‘यो देशमा यो व्यवस्था चाहिने नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ । कसैले विचार मिल्दैन भन्दै अमूक मान्छेले राजीनामा माग्न पाइँदैन । अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुपर्‍यो । संविधानले विशेष अधिकार दिएको छ । कुनै पनि सांसदले स्पष्ट रूपमा वाक् स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन,’ उनले भने, ‘मैले किन राजीनामा दिने ? मैले आठ/नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? किन राजीनामा दिने? मैले नेपाली जनता मारेको हो ? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो ?’

शाही बोल्दाबोल्दै माओवादीका सांसद पाण्डेले नियमापत्ति गरेका थिए । पाण्डेको नियमापत्तिपछि कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताएका थिए । शर्माले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीलाई समर्थन गरेका थिए ।