काठमाडौं । छोरा भेट्न नपाएपछि नेपालगन्जकी भारती मानन्धरले विष पिएकी छन्।
नेपालगन्जस्थित एक विद्यालयमा अध्ययरत छोरालाई भेट्न उनी मंगलबार बिहान खाजासमेत लिएर पुगेकोमा , परिवारले भेट्न अनुमति नदिएको र भारतीले दिएको खाजासमेत छोरालाई दिन नमिल्ने जवाफ विद्यालयले दिएपछि उनले विषय खाएकी हुन।
भारतीको पक्षमा न्यायका लागि आवाज उठाउँदै आएकी जश्मिन ओझाका अनुसार छोरालाई भेट्न नदिइएपछि तनावमा परेकी मानन्धरले विष पिएकी हुन्।विष पिएपछि अचेत बनेकी उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ। ओझाका अनुसार अहिलेसम्म भारतीको होस खुलेको छैन।
आफ्ना पति चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका गुन्डा नाइके रिगल ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि भारतीले आन्दोलन गरेकी थिइन्।
सर्वोच्च अदालतले राष्ट्रपतिको उक्त कदमलाई उल्ट्याइदिएपछि रिगल अहिले जेलमै पुगिसकेका छन्। तर राष्ट्रपतिबाट आममाफी पाएका रिगललाई लामो समय आन्दोलन गरेर पुनः जेल पठाउन सकेकी भारती पारिवारिक रुपमा समस्यामा पर्दै आएको जनाउँदै आएकी थिइन् ।
उनले छोरालाई आफैले राख्नुपर्ने चाहना गर्दै आएको भएपनि चेतनका बुबाआमाले भने नातीलाई आफैले राखेका छन् ।