गृहजिल्ला पुगेर प्रचण्डले गरे कांग्रेसलाइ राष्ट्रियसभा अध्यक्षमा सहयाेग नगर्ने संकेत

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृष्णप्रसाद सिटौला नै आए राष्ट्रिय सभा अध्यक्षमा सकारात्मक रुपमा सोच्ने वचन सत्ता साझेदार नेपाली कांग्रेसलाई दिएको स्वीकार गरेका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले उक्तकुराम सवीकार गरेका हुन् ।

तर अहिले परिस्थिति फेरिएको भन्दै उनले सिटौलालाई समर्थन नगर्ने संकेत गर्दै राष्ट्रिय सभा अध्यक्षबारे पार्टीले लिखित निर्णय नगरिसकेको बताए । सो क्रममा  पार्टी स्थायी समिति बैठकमा अत्यधिक सदस्यले राष्ट्रियसभा अध्यक्ष छोड्न हुँदैन भन्ने सुझाव दिएको प्रचण्डले बताए ।

कांग्रेस नेता सिटौलालाई वचन दिनुभएको थियो होइन र ? भन्ने प्रश्नमा उनले त्यो बेला परिस्थिति भिन्न रहेको र बचन दिएको बताए । शान्ति प्रक्रियाका साथै सविधान निर्माण प्रक्रियामा खेलेको सकारात्मक भूमिकाको पृष्ठभूमिमा सिटौला आए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेको भन्दै प्रचण्डले भने, ‘त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रम अलि भिन्न ढंगले अगाडि गए ।’

कांग्रेसकै कारण राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी उम्मेदवार पराजित भएको, महासमिति बैठकमा गठबन्धन नगर्ने बहस गर्नुका साथै जनयुद्धबारे अनावश्यक टिप्पणी गरेको उनले बताए । यद्यपि अहिले पनि आफूहरु गठबन्धनकै पक्षमा रहेको बताए ।