हुण्डी कारोबारमा संलग्न तीन भारतीयसहित पाँच जना पक्राउ

बारा । हुन्डी कारोबारमा संलग्न रहेका ३ भारतीयसहित पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

बारा प्रहरीले २१ लाख रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पञ्चायत हरपुर ग्राम नायक टोलमा बस्ने वर्ष २९ को रञ्जित सरार्फ, जिल्ला मोतीहारी ग्राम श्यामपुर बस्ने बर्ष ४२ का कृष्णलाल प्रसाद, मोतिहारी जिल्ला ग्राम अरेरा बस्ने बर्ष ४० को रबिशंकर सिंह, र बारा कलैया उपमहानगरपालिका–७ मा बस्ने वर्ष ३१ को कलामुदिन अंसारी, बारा महागढीमाई नगरपालिका–१ मा बस्ने कलैया उपमहानगरपालिका–४ स्थितमा आसिफ मनि चेन्जर सञ्चालन गरी बस्ने वर्ष ३९ को मेराजुल हक अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडबाट रञ्जित सर्राफले कुनै पनि बैङ्कको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा निजको साथबाट लुकाइछिपाई ल्याइएको विभिन्न दरको नेपाली रु.२१ लाख नगदसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।

रञ्जित सर्राफको बयानका आधारमा हुण्डी कारोबारमा संलग्न रहेका बाँकी चार जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरीले भारतीय नागरिक कृष्ण लाल प्रसाद र रबी शङ्कर सिंहको साथबाट कुनै पनि बैङ्कको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली १६ लाख ९ हजार नगद र भारतीय नागरिक रञ्जित सराफ, बाराका कलामुदिन अंसारी र मेराजुल हक अंसारीको साथबाट पाँच लाख नगद बरामद गरेको छ ।

पक्राउ गरी बैङ्क तथा वित्तीय संस्था सम्बन्धीको कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।