म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नमर्दासम्म उथलपुथल भइराख्ने बताएका छन् ।सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’

माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ । ‘आजको दिन पनि नयाँ उथलपुथल भएको दिन बन्यो । यो सानो कुरा होइन ठुलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ’, उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।’ उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको पनि बताए । ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन माओवादी । नयाँनयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी ।

सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभंगता भएको छ’, प्रचण्डले भने, ‘माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो अरुको कसैको होइन ।’