गण्डकीमा माओवादीतर्फका मन्त्री हटाइए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)तर्फका मन्त्रीलाई हटाएका छन् । उनले यसलाई मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताए ।

“मैले मन्त्रिपरिषद् पुनर्गठन गरेको हुँ । उहाँहरू (माओवादीतर्फका मन्त्री)लाई हटाइएको हो,” उनले भने ।

मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो सहकार्य तोडेर नेकपा (एमाले)सहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेका छन् । प्रदेशमा त्यसकै असर परेको हो । पाण्डे नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।