माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

सभापति देउवा साढे नौ बजेपछि कोटेश्वर आउने नेपालको सचिवालयमा खबर गरेका थिए। नेपालले सचिवालय बैठकअघि छलफल गर्ने बताएपछि देउवा पुगेका हुन्।

देउवा बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका हुन्। कांग्रेस स्रोतका अनुसार भर्खरै सत्ताबाट गलहल्याइएका देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ओली-दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई असहयोग गर्नका लागि फकाउन बिहानबिहानै उनको घर पुगेका हुन्।

तर, नेपाललाई ओली-दाहालको प्रस्ताव मन परिसकेको स्रोतले दाबी गरेको छ। सत्ता गठबन्धनमा मिसिन अन्तिम निर्णयका लागि नेकपा समाजवादीको बैठक अहिले केहीबेरमा बस्दै छ भने त्योभन्दा अघि नै पार्टीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री दाहालसँग भेट गर्न बालुवाटार पुगेका छन्।

देउवासहितको गठबन्धनमा सोमबार गएको पहिरोले अचानक कांग्रेसलाई विपक्षी कित्तामा हुर्‍याइदिएको छ भने नेकपा एमाले सत्ता पक्षीय बनिसकेको छ।

सत्ता गठबन्धनका सर्तहरुबारे छलफल गर्न नेता खनाल भने प्रधानमन्त्रीसँग कुरा गर्न बालुवाटारमा पुगेका छन्। बिहान ११ बजे पार्टीको सचिवालय बैठक बस्दैछ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई औपचारिक रुपमा सत्ता गठबन्धनमा आउन आग्रह गरेका थिए। ओली र दाहालको आग्रहलाई नेपालले सकारात्मक रुपमा लिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन्।