धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या पुग्यो सात

मलेखु- धादिङको गजुरी गाउँपालिका- ५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ ।

दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । गौतमले भने,’घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ‘

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ ।

बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ ।

बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका- ९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।