राष्ट्रियसभा अध्यक्षको निर्वाचन र विश्वासको मत दिने दिन अनिवार्य उपस्थित हुन सांसदलाई माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले राष्ट्रियसभाको अध्यक्षको निर्वाचन तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत दिने दिन अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसको बैठकले प्रतिनिधिसभामा विश्वासको मत लिने दिन र राष्ट्रियसभामा अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनको दिन सांसदहरूलाई अनिवार्य उपस्थित हुने निर्देशन दिँदै ह्वीप जारी गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही फागुन ३० गते बस्ने प्रतिनिधिसभाको बैठकमा नै विश्वासको मत लिनेबारे छलफल भइरहेको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डले बताउनुभयो ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले देशको पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डलको विस्तार तथा पार्टीको भूमिकाबारे जानकारी गराउनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।