माओवादी संसदीय दलको बैठक बस्दै,के छन् एजेन्डा?

काठमाडौँ( सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आइतबार बस्दैछ ।

बैठक आज पनि दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति तोक्ने बताइएको छ ।

यहीँ फागुन १६ गते बुधबार बसेको पार्टीको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धनको साथबाट प्रधानमन्त्रीमा निरन्तरता पाएका दाहालले छिट्टै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्। सोही विषयमा आजको बैठकमा छलफल हुने पार्टीका एक नेताले जानकारी दिए ।