नागरिकले सुरक्षित महसुस हुने गरी प्रहरीले सेवा दिनुपर्छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कुनै कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक रहेको बताउनुभएको छ  ।

आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नेक्रममा उपप्रधानमन्त्री लामिछानेले  राजनीतिक हस्तक्षेपका कारण प्रहरी सङ्गठन र त्यसको नेतृत्वले वृत्ति–विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने अवस्थाको रहेको भन्नुहुँदै आफूले यसको अन्त्य गर्न चाहेको बताउनुभयो ।

केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने इच्छाशक्ति र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आफू सरकारमा आएको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

नीति र विधिभित्र रहेर काम गर्न निर्देशन दिनुहुँदै उहाँले कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्न आग्रह गर्नुभयो ।  “तपाईँहरूको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने, अन्यले चाहिँ सङ्गठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ ।” उहाँले भन्नुभयो ।

प्रहरी सङ्गठनका विद्यमान समस्या समाधानमा आफू प्रयासरत रहने भन्नुहुँदै उहाँले प्रविधिको प्रयोगलाई पनि बढाउनु पर्ने बताउनुभयो ।

निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीको साङ्गठनिक संरचना, जनशक्ति परिचालन, समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो ।

त्यसअघि उपप्रधानमन्त्री लामिछानेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।