इलाम-२ मा उपनिर्वाचनमा रास्वपाले भाग लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर-२ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

सोमबार पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रिय समिति बैठकले आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

तर प्रदेश सभामा बझाङ १ को उपनिर्वाचनमा भने पार्टीले भाग नलिने निर्णय गरिएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिनुभयो । त्यसैगरी बैठकले सो उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सरकारको कामबारे समिक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरुसँग छलफल गरेर सरकारको कामको समिक्षा गर्ने निर्णय पनि गरेको छ ।

पार्टीलाई सरकार, संसद र संगठनमा बलियो बनाउन सहयोगी टिमहरु गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सत्तारुढ गठनमा आवद्ध भएर पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागिता जनाएको छ ।