नीतिगत सुधारमा ध्यान दिन्छु : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताउनुभएको छ ।

सोमबार आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा पुग्नुभएकी मन्त्री चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताउनुभएको हो ।

मन्त्री चौधरीले आफ्नो मन्त्रालय मानव जीवनसँग सम्बन्धित संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको हितका निम्ति नीतिगत परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताउनुभयो । उहाँले सातै प्रदेशमा वृद्धहरुका लागि वृद्धाश्रम खोल्ने र छोराछोरीले आफ्नो कमाईको ११ प्रतिशत बुबाआमालाई दिनैपर्ने नीति ल्याउने योजनामा रहेको बताउनुभयो ।

मन्त्री चौधरीले महिला हिंसाका घटनाहरु हेर्नका लागि सबै स्थानीय तह र जिल्लामा छुट्टै महिला विभाग गठन गर्ने बारेमा आफु परामर्शमा रहेको पनि बताउनुभयो ।

मन्त्री चौधरीले वर्तमान सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताउनुभयो ।