राष्ट्रियसभा अध्यक्षमा माओवादीका दाहाल निर्वाचित

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाटका उम्मेदवार नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

मंगलबार भएको निर्वाचनमा माओवादीका दाहालले ३९ मत प्राप्त गरी बहुमतका आधारमा उनी विजयी भएका हुन्।

शर्मा र दाहालका लागि दुवै तर्फबाट पेस गरिएको प्रस्तावित मत बहुमतका आधारमा पारित गरिएको हो। जसमा ३९ मत लिएका माओवादीका दाहाल विजयी भए।

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम दाहाललाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरिएको हो। उनी रिक्त विज्ञ कोटाबाट राष्ट्रियसभामा मनोनित भएका थिए।

यता, कांग्रेका शर्मालाई अध्यक्ष बनाउनुपर्ने प्रस्तावमा १७ जनाले मत दिएका थिए। राष्ट्रियसभाको आज भएको निर्वाचनमा जम्मा ५६ मत खसेको हो।

माओवादीका उम्मेदवार दाहाललाई माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन थियो भने कांग्रेसका शर्मालाई कांग्रेसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन थियो।