गठबन्धन चीनले होईन, एमालेले भत्काएको होः ओली

काठमाडौं, २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादीसहितको गठबन्धन आफूहरुले भत्काएको दाबी गरेका छन् । आज (मंगलबार) पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादीसहितको गठबन्धन चीनले भत्काएको भन्ने आरोपलाई खण्डण गर्दै उक्त गठबन्धन एमालेले भत्काएको दाबी गरेका हुन् ।

‘यो परिवर्तन हामीले गरेको, गराएको हो । कमसेकम यती जस त हामीलाई दिनुस् । कहाँ चीन पुर्याएको यति सानो काममा पनि ? चीनले बनाइदियो अरे, चीन आयो अरे, चीन घुस्यो अरे । यस्तो खाल्को कुरा चाहीँ नगरे हुन्थ्यो । त्यती जस त हामीलाई दिनुस् । यत्रो मेहनत गरेर बनाइएको छ । यति काम त हामीले गरेको भन्दा हुन्छ नि । हामीले गरेको हो,’– उनले भने ।

अहिलेको सरकारले जनतामा आशा जगाउने कोशिस गरिरहेको बताए । सत्ता गठबन्धन महान उदेश्यको साथ अगाडि बढिरहेको बताए । उनले एमाले सरकारको अन्ध समर्थन गर्ने पार्टी नभएको बताए । हिजो प्रमुख प्रतिपक्षीमा रहँदा पनि एमालेले सरकारको अन्ध विरोध नगरेको उनको दाबी छ ।

एमालेलाई सरकारमा जाने हतारोले भन्दा पनि देशको बर्वादी टुलुटुलु हेरेर बस्न नसक्दा गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन परेको उनले बताए । अध्यक्ष ओलीले अघिल्लो गठबन्धनमा हुनेहरुको उन्माद सकिएको बताए । उनले अघिल्लो गठबन्धनलाई आफूले खरानीको डल्लोको संज्ञा दिएको स्मरण गराउँदै सो गठबन्धन खरानीको डल्लो नै प्रमाणित भएको बताए ।

साथै, उनले पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई जनताले देख्नेगरी र परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । कुनै अबगाल आउने काम नगर्न उनले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सचेत गराए । मन्त्रीहरुलाई अपारदर्शी र भ्रष्टाचारका कुनै पनि क्रियाकलापमा सहभागी नहुन उनले निर्देशन दिए । साथै, सरकारमा भएका कसैले भ्रष्टाचार र अपारदर्शी क्रियाकलाप गरेको खण्डमा हेरेर नबस्नेसमेत बताए ।