आरती साहको परिवार र गृह मन्त्रालयबीच पाँचबुँदे सहमति

गृह मन्त्रालय र आरती साहको परिवारबीच मंगलबार साँझ पाँचबुँदे सहमति भएको छ।

गृहमन्त्री रवि लामिछाने र आन्दोलनरत आरती साहका परिवारबीच भएको छलफलमा पाँचबुँदे सहमति भएको हो।

सहमतिसँगै साहको परिवारले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ।

साह परिवार र गृह मन्त्रालयबीच भएकाे सहमति यस्ताे छ:

१. स्वर्गीय आरती साहको कर्तव्यज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने ।

२. अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको पैतालीस दिन भित्र प्रतिवेदन पेश गर्ने गरी निम्न विषयहरु अध्ययन गर्ने।

(क) स्वर्गीय आरती साहको कर्तव्यज्यान सम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीहरुका सम्बन्धमा अनुसन्धान गर्ने।

(ख) घटनाको अनुसन्धानका क्रममा स्वर्गीय आरती साहका परिवार माथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा अनुसन्धान गर्ने।

(ग) घटनाको सम्बन्धमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगचाट सार्वजनिक भएको प्रतिबेदनमा उल्लिखित विषय समेतलाई अध्ययन गर्ने।

(घ) घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू अध्ययन गर्ने।

३. माथि बुँदा नं. १ र २ बमोजिम भएको अनुसन्धानवाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुन बमोजिम पुनः अभियोजन समेत गर्ने।

४. स्वर्गीय आरती साहका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक, सहजीकरण गर्ने।

५. स्वर्गीय आरती साहका परिवारको तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रमहरु आजका मितिवाट फिर्ता लिने।