वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी कार्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पर्दछ। पौडेल विगत करिव तीन महिनाभन्दा बढी अवधिदेखि उक्त शाखामा कार्यरत रहेका थिए

पौडेलले सेवा प्रवाह असहज बनेको र शिक्षा मन्त्रालयले माग तथा गुनासा सुनुवाइ नगरेको भन्दै बुधबार शिक्षा मन्त्रालय पुगेर राजीनामापत्र बुझाएका हुन्।

पौडेलले प्रमुख शाखामा बसी काम गर्ने, सेवाको अनुभव हासिल गर्ने अवसर उपलब्ध गराइ दिएको भन्दै शिक्षा मन्त्रालयका सचिवप्रति कृतज्ञता व्यक्त गरेका छन।

पौडेलले राजीनामा दिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ बिहीबार एनओसी कार्यालय पुगेर थप जनशक्ति दिने आश्वासन दिएर फर्किएकी छिन्।

एनओसी अनलाइनबाटै प्रिन्ट गर्न सकिने भए पनि सर्भरमा समस्या आउँदा अहिले यो सेवा बन्द छ।

एनओसीले निकालेकाे सुचना

 

उनले लेखेको राजिनामा यस्तो छ।

म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमी, भक्तपुरमा अवस्थित वैदेशिक अध्ययन अनुमति शाखामा कार्यरत उपसचिव शान्तिराम पौडेल हूँ। म विगत करिव तीन महिनाभन्दा बढी अवधिदेखि उक्त शाखामा कार्यरत रहँदै आइरहेको छु । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको उक्त अत्यन्त महत्वपूर्ण शाखामा बसी काम गर्ने, सेवाको अनुभव हासिल गर्ने अवसर उपलब्ध गराइ दिनुभएकोमा श्रीमान् सचिवज्यूप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु ।

वैदेशिक अध्ययन अनुमति शाखामा बहाल रहने उपसचिवले सो शाखाको शाखा प्रमुखको रूपमा तोकिएका जिम्मेवारी, दायित्व र सेवा प्रवाहको नेतृत्व समेत गर्नु पर्ने हुन्छ

। मैले मेरो अनुभव, मौजुदा कानुनी व्यवस्था, मन्त्रालयको निर्देशन, शाखामा कार्यरत कर्मचारीविचको समन्वय, परिचालन, सहकार्य र अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै सेवा प्रवाहको प्रवन्ध गर्दै आइरहेको व्यहोरा अवगत गराउन चाहन्छु ।

विद्यमान स्रोत साधनलाई अधिकतम परिचालन गरेर सेवा प्रवाह गर्दै गर्दा पनि हालका दिनमा सेवा लिन को कार्यालयमा प्रत्यक्ष उपस्थित हुने हजारौं सेवाग्राहीमध्ये आधालाई पनि सेवा दिन नसकेको यथार्थ पेश गर्दछु ।

शाखाको नेतृत्वमा बसेर देशका दूरदराज स्थान समेतबाट सेवालिन आउने सेवाग्राही सबैलाई सेवा दिन नसक्नु, सेवा दिने सक्ने गरी व्यवस्थापन गर्न नसक्नु मेरो नेतृत्वको कमजोरी हो।

यो कमजोरीलाई म हृदयदेखि नै स्वीकार्दछु। बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म र सार्वजनिक विदाका दिनमा समेत सेवाका लागि कर्मचारी साथीहरूलाई अनुनय सहित आफू समेत उपस्थित भएर सेवा सञ्चालन गर्दा समेत मेरो नेतृत्वले सेवाग्राहीलाई सेवाको सन्तुष्टि प्रदान गर्न नसकेकोमा क्षमा चाहन्छु।

नागरिकको हितका लागि राज्यले विभिन्न निकायहरूको निर्माण र स्रोतको परिचालन गर्ने गर्दछ । म त्यही स्रोत साधनमध्येको एक हूँ। तर सेवालाई चुस्त, दुरुस्त बनाइ मागबमोजिम सेवाको दैनिक आपूर्ति गर्न नसकेर जागिरमा बसिरहन मलाई मेरो राष्ट्रसेवक हूँ भन्ने कानुनी आधार र आदर्शले प्रेरित गर्न सकेन र नैतिकताले पनि दिएन ।

राष्ट्रसेवकको पगरीमा सजिएर सार्वजनिक सेवाको कुर्सीमा बसी सेवा नपाएर मेरो नेतृत्वप्रति, मेरो सेवाप्रति, सिंगोराज्यप्रति आक्रोश र निराशा मिसिएको आवाज सुनेर जागिरलाई निरन्तरता दिन मेरो नैतिकताले मलाई सुहाएन, मलाई जाँगर थपेन ।
म सेवा प्रदान गर्ने सार्वजनिक पदका लागि अब योग्य रहिन । मेरो असक्षमता ल्इऋ को कार्यालय परिसर, सडक,बाटो, गल्ली, टोल छिमेक सबैतिर दूर्गन्धित हुनेगरी छताछुल्ल पोखियो ।

मेरो बाँकी जीवनको टेक्ने धरातल, बाच्ने आधार यही भूमि हो यही समाज हो। असक्षमताको ट्याग लगाएर मलाई मेरो बाँकी जीवन यो समाजमा बाँच्न गाह्रो हुन्छ ।

समाजमा शिर ठाडो बनाएर बाँच्ने इच्छा मैले अझै मारिसकेको छैन । यसर्थ मेरो असक्षमताका कारण निरीह सेवाग्राहीलाई पर्नजाने सम्भावित थप असुविधाको मूल्याङ्कन र आत्मसमिक्षा समेत गर्दै नैतिकताका आधारमा मेरो राजीखुसीले मिति २०८०र१२र०१ गतेदेखि लागू हुने आफू वहाल रहेको निजामती सेवाको उपसचिव शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प.द्वितीय पदबाट राजिनामा पेश गरेको छु ।

निजामती सेवामा प्रवेश गर्न, सेवामा प्रवेश गरी दायित्व जिम्मेवारी बहन गर्न मार्गनिर्देशन, सहयोग र सहजीकरण गर्नुहुने आदरणीय सबै पदाधिकारी, सहकर्मी, प्रेरक महानुभाव तथा सेवाग्राहीहरूप्रति आभारी छु । धन्यवाद ।