सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्छः सांसद आचार्य

काठमाडौँ – नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहनेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताएका हुन्। त्यस्तो तालिम निःशुल्क रुपमा दिने व्यवस्था गर्नुपर्ने उनले बताए।

उनले विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्नेलगायतका सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने बताए। उनले विदेश जान चर्को व्याजमा ऋण लिने गरिएको भन्दै उनीहरुलाई सहुलियत दरमा जिल्लाबाटै बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए।

‘संघीय सरकारले प्रत्येक पालिकामा वैदेशिक रोजगारमा जान चाहाने कामदारहरुलाई निःशुल्क विषयगत तालिमहरुको व्यवस्था गर्नुपर्दछ। ६ महिने विषयगत तालिम नलिएका व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्दछ। वैदेशिक रोजगारीमा जाने कामदारले साहुबाट महँगो ब्याजमा ऋण लिन्छ। कतिपय मिटरब्याजीको फेला पर्छ। र आफ्नो घरबास, जमिन गुमाउँछ। वा आफूले कमाएको सबै पैसा तिर्दा पनि ऋणबाट मुक्त हुन सकेका छैनन्। यो अव्यवस्थालाई सरकारले अन्त्य गर्नुपर्दछ,’ उनले भने।