कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरु उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेको हो।

उनले लामिछाने आफूमाथि प्रश्न बोकेर गृहमन्त्री हुनु नहुने र प्रधानमन्त्रीले पनि प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु नहुने बताए।

सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेका बताए।

पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उनको भनाई छ ।

उनले भने-‘अहिलेको गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनु भएको थियो। उहाँ प्रश्न गर्ने पेशाबाट आउनुभएको हो। राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ। आफ्ना बिरुद्ध प्रश्नहरु उठाउन मिल्दैन। प्रश्नहरुलाई निषेध गर्न पाउनुपर्छ भन्न मिल्दैन। आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैन थियो। अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ? म प्रश्न गर्न चाहन्छु। पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई कसरी समाधान गर्नसक्छ? पीडितहरुले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ? म आग्रह गर्न चाहन्छु मेरो मित्र माननीय गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रश्तुत गर्नुस्।’

उनले गृहमन्त्रीकै मातहतमा रहेको प्रहरीले सुन प्रकरणमा राजनीतिक मान्छेलाई छानवीनको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्रीमाथि पनि प्रश्न उठाउएका थिए।