नागढुंगा – नौबिसे सडक पुनर्निर्माणमा तिब्रता दिन सांसद एकनाथ ढकालको संसदमा ध्यानाकर्षण

सम्माननीय सभामुख ज्यू ,
राजधानी जोड्ने सडकको मर्मत सम्भार सरकारको सबैभन्दा महत्वपुर्ण प्राथमिकतामा पर्नु पर्ने हो तर नागढुंगा देखि नौबिसे खण्डको सडक लामो समयदेखि जिर्ण अबस्थामा छ र मर्मतको कामले कुनै गति लिन सकेको छैन। नेपाली मात्र नभएर भारत, भुटान, बंगलादेश सम्मका पर्यटकहरुले समेत काठमाडौँ आवत जावतमा प्रयोग गर्ने यस सडकको दुर्दशाले अन्तराष्ट्रिय बेइजेति कमाएको छ। सडक यात्रीहरु यो बाटो मार्फत काठमान्डौ प्रवेश गर्दै गर्दा कुनै देशको राजधानी होइनकि दुर्गम गाउ तर्फ जादै गरेको अनुभूति गर्छन । यसले संघिय सरकारको क्षमतामा प्रश्न खडा गरेको छ।

खासगरी सार्बजानिक यातायातमा यात्रा गर्ने बालबालिका, जेष्ट नागरिक, बिरामी, सुत्केरी आदिले दैनिक भोग्नु परेको पिडा प्रति संबेदनशील भएर यस सडक खण्डको पुनर्निर्माणलाइ उच्च प्राथमिकताम राखी तिब्र गतिमा मर्मत तथा निर्माण कार्य सम्पन्न गर्न सम्माननीय सभामुख ज्यू मार्फत नेपाल सरकारको गम्भीर, गम्भीर र गम्भीर धनाकर्षण गर्दछु।

एकनाथ ढकाल
प्रतिनिधि सभा सदस्य – संघिय संसद
२०८० चैत २ गते