दिपेशलाई सबा अर्ब सहकारी ठगीको मुद्धा

रुपन्देही । शुक्रबार दिउँसो काठमाडौँमा पक्राउ परेका दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राती बुटवल लिगएको छ  । सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले बुटवल लगिएको हो ।

पुनविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप  छ । बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा रहेको छ ।

उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए । रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले उनीविरुद्ध मुद्दा भएकाले काठमाडौँबाट झिकाइएको जनाएका छन् । तर काठमाण्डौ प्रहरीले उनलाई सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरेको सूचना दिउसो दिएको थियो ।

सुन तस्करीबारे अनुसन्धान गर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले बुटवल लगिएको आंकलन गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले सुप्रिम सहकारीका वचतकर्ताले सबा १ अर्ब रकम अपचलन गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई बुटवलमा राती नै ल्याइएको पुष्टि गरे ।