सरकारमा हामीले तीन वटा मन्त्रालय पाउँछौं: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धनमा पार्टीले तीन वटा मन्त्रालय पाउने दाबी गरेका छन्।

बुधबार पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ गठबन्धन बनेपछिको मन्त्रिपरिषदमा एकीकृत समाजवादील तीन वटा मन्त्रालय पाउने बताएका हुन्।

‘आआफ्नो संख्यामा आधारमा विभिन्न संख्यामा मन्त्रीहरू पठाइएका छन्। हाम्रो पार्टीले तीनवटा मन्त्री पाउँछ। दुइटा पठाएको छ। अर्को पनि हामी समयक्रममा पठाउनेछौं,’ उनले भने। सँगै राजनीतिक नियुक्तीमा पनि आफ्ना मान्छेहरू पठाइने उनले बताए।

‘त्यस्ता ठाउँहरूमा जहाँ राजनीतिक नियुक्ति गर्नुपर्ने हुन्छ। त्यहाँ योग्य र सक्षम मान्छेहरू हाम्रा पनि छन् भने त्यसप्रति कुनै पूर्वाग्रह नराखी सकारात्मक सोच राखेर उनीहरूले पनि अवसर पाउनुपर्छ,’ उनले भने।

गठबन्धनमा भने उनको पार्टीलाई दुई मन्त्रालय दिने सहमति भएको थियो।

अध्यक्ष नेपालले प्रदेश सरकार पुनर्गठन हुने र त्यहाँ पनि पार्टीले त्यही हिसाबमा मन्त्रीहरू पठाउने बताए।

एकीकृत समाजवादीले पठाएका मन्त्रीहरूले राम्रो काम गरेर देखाउनुपर्ने पनि अध्यक्ष नेपालले बताए।