नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा

काठमाडौँ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ । प्रधान सेनापति प्रभुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो ।

सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उहाँले करिब १० लाख हिताधिकारी मार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिनुभयो । उहाँले विसं २०८० असार मसान्तसम्म रु ७१ अर्ब पाँच करोड ६१ लाख रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख पुगेको जानकारी दिनुभयो । कल्याणकारी कार्य सोही कोषको ब्याजबाट सञ्चालन हुँदै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।

सैनिक कल्याणकारी कोषमा हरेक वर्ष करिब रु छ देखि आठ अर्ब खर्च भइरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले कोषमा ठूलो रकम देखिएता पनि एकै पटक रकम उपलब्ध गराउन कठिन भइरहेको बताउनुभयो । प्रधानसेनापति शर्माले कोषलाई कालान्तरसम्म दिगो राख्न आयआर्जनलाई विस्तार गर्न जरुरी रहेको र यस विषयमा सरकारका सम्बद्ध निकायमा कुरा राखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले अवकाशप्राप्त सकल दर्जालाई एकै ठाउँमा भेटघाटका साथै बहालवाला र अवकाशप्राप्त सैनिकबीच सामीप्यताको भावना जागृत गराउन सेनाले विविध कल्याणकारी कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।

सैनिक कल्याणकारी कोषका प्रमुख कार्यकारी अधिकृत अवकाश प्राप्त रथी गौरव तण्डुलले अवकाशपछिको जीवन एकापसमा भेटघाट, सुख–दुःख बाँड्न र अपनत्वको भावना विकास गराउन सम्मेलनले महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

सेनाले गरिरहेका विभिन्न काम, कारबाहीका बारेमा अवकाश प्राप्त सैनिकहरूलाई जानकारी गराउने तथा भूपू सैनिक र उनीहरूका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ भूपू सैनिक सम्मेलन गरिँदै आएको सेनाले जनाएको छ ।

‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा विभिन्न जिल्लाबाट अवकाश प्राप्त सकल दर्जाको उपस्थिति थियो । सम्मेलनमा एकै परिवारबाट चार जनाभन्दा बढी सन्तानले नेपाली सेनामा सेवा गरेका आमा–बुबालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली सेनाद्वारा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।