महरा पक्राउ परेपछि गगनले भने-एमालेले यो कुरा नउठाएको भए आयोग नबन्ने अनि सुनकाण्ड फासफुस हुने

काठमाडौं( प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले अवैध सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा थापाले सरकारलाई धन्यवाद दिएका हुन्। संसद सुरु भएसँगै उनले सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका थिए।

‘भर्खर हामीले समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ। यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ,’ थापाले भने।

उनले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको पनि बताए।

उनले प्रतिनिधिसभाको बैठकमा एमालेले आयोग बनाउन उठाएको प्रश्न सही सावित भएको बताए ।

थापाले भने, ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरुलाई लुकाएको छ भनेर जोडदारसँग उठायो। प्रहरीको नियमित छानविनबाट अनुसन्धान सहि ठाउँमा पुग्न सक्दैन भनेर। शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालिन प्रतिपक्षको आशंका सही सावित भयो।’

उनले एमालेले यो कुरा नउठाएको भए आयोग नबन्ने अनि सुनकाण्ड फासफुस हुने पनि बताए।