महरालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सिआइवीले अदालत उपस्थित गराउँदै थुनामा राख्ने अनुमति मागेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा निवेदन दिएको सिआइवीको निवेदनमाथि सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

९ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई उनकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला पक्राउ गरिएको हो।

उनले विमानस्थलमा अड्किएको सुन छाडिदिन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल फोन गरेको आधारमा सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लगाइएको हो।