काठमाडौं- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबार चीनको औपचारिक भ्रमणमा जाँदैछन्।
आज राति ११ बजे श्रेष्ठ चीन भ्रमणका लागि प्रस्थान गर्नेछन्। परराष्ट्रमन्त्री भएपछि उनकाे याे पहिलाे विदेश भ्रमण हाे। यसभन्दा अगाडि उनी गृहमन्त्री थिए।
श्रेष्ठले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन्।
साथै भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किनेछन्। गत कात्तिक महिनामा पनि उनी चीन भ्रमणमा गएका थिए।