गाईघाट, चैत १३ गते। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले विकासको मेरुदण्ड भनेकै मुलुकमा गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण हुनुपर्ने बताउनुभएको छ। नेकपा (एमाले) उदयपुरको नवौँ जिल्ला अधिवेशनलाई मङ्गलवार गाईघाटमा सम्बोधन गर्नुहुँदै भौतिक पूर्वाधार मन्त्री महासेठले सो कुरा बताउनुभएको हो।
उहाँले मुलुकको अर्थतन्त्रमा क्रमिकरुपले सुधार आएकाले अब पैसाका कारण कुनै पनि योजनाको काम नरोकिने र सम्पन्न भइसकेका विकास निर्माणका कामको भुक्तानी समेत अब सहज हुने बताउनुभयो।
राज्यको ढुकुटी रित्तिएका कारण व्यवसायीले यसअघि योजनाको काम ठप्प पारेको विषय स्वीकार गर्दै उहाँले एमाले सरकारमा सहभागी हुनासाथ मुलुकको अर्थतन्त्रमा व्यापक सुधार आएको बताउनुभयो।
‘यसअघि ठेकेदार कम्पनीले काम सम्पन्न भइसक्दा भुक्तानी हुन सकेको थिएन। उपप्रधानमन्त्री महासेठले भन्नुभयो, ‘वर्तमान सरकारको चासो भौतिक पूर्वाधार निर्माणमा नै भएकाले काम गर्ने कुनै पनि व्यवसायीले अब भुक्तानीमा अल्झन खेप्नु पर्दैन।’
उहाँले देशको आर्थिक समृद्धिका लागि अहिलेको गठबन्धन सरकार निर्माण भएको स्पष्ट पार्नुभएको छ। नेकपा (एमाले)का केन्द्रीय कमिटीका सचिवसमेत रहनुभएका महासेठले एमालेका कारण देश संकटबाट जोगिएको र मुलुकको हितका लागि जनताको भावनाअनुसार अहिलेको सत्तासमीकरण भएकोले यसलाई निरन्तरता दिएर अगाडि जानुको विकल्प नभएको बताउनुभयो।