images
images

कर्मचारी व्यवस्थापनमा आवश्यक छलफल गर्छौँ : मन्त्री जोशी

बैतडी । नेपाल सरकारका सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघ सरकारले स्थानीय तहमा खटाउने कर्मचारीका विषयमा विशेष छलफल गर्ने बताउनुभएको छ ।
बैतडीको खोड्पे स्थित सरोकारवाला सँगको संक्षिप्त अन्तरक्रियामा उहाँले कर्मचारी व्यवस्थापनमा चासो उचित निर्णय गर्ने बताउनुभयो ।
गृहजिल्ला बझाङबाट काठमाडौँ जान लागेका मन्त्री जोशी र नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य बद्री पाण्डे लगायतका नेता कार्यकर्ताहरूसँग चियापान कार्यक्रमसहित अन्तरक्रिया गरिएको पाटन नगरपालिका ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिनुभयो ।
समसामयिक राजनीतिक घटनाक्रम र विकासका बारेमा छलफल गरिएको उहाँले बताउनुभयो । स्थानीय तहमा कर्मचारी अभावका विषयमा छलफल गरिएको थियो ।
केन्द्रबाट स्थानीय तहमा खटाइने कर्मचारीहरू स्थिर नहुँदा स्थानीय तहमा कामकारबाही गर्न समस्या हुने गरेको विषय जानकारी गराइएको वडा अध्यक्ष बिष्टले बताउनुभयो ।
यस विषयमा मन्त्री जोशीले केन्द्र स्तरमा आवश्यक छलफल गर्ने बताएका थिए ।
छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य पाण्डेले स्थानीय तहमा सबै जनप्रतिनिधिहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । ‘प्रदेश र केन्द्रमा जस्तोसुकै समीकरण पनि भई रहने गरेको छ, स्थानीय सरकार स्थिर सरकार हो, यहाँ जुनसुकै दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि भएपनि मिलेर काम गर्नुपर्छ,’ पाण्डेले भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलमा आबद्ध प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।